१२ फागुन ,सोमबार
दाङ जिल्लाको स्वर्गद्धारी गुठिका किसानहरु मोही हक माग्दै केन्द्रिय राजधानी सम्म आएको आज २३ दिन भयो, भोक भोकै सडकमा चरणवद्ध आन्दोलन गरेको २३ दिन वित्दा समेत राज्य कानमा तेल हालेर बसेको छ । ५५ बढि भूमिहिन कमैया किसानहरु माइतीघर क्षेत्रमा सधै झै आन्दोलन गर्छन तर उनीहरुको कुरा राज्यले सुन्ने पक्षमा छैन ।
हात हातमा कुटो कोदालो, फरुवा, हलो, भौका, झिट्वा, ढकिया लगायतका थारु पहिचान लिएर दाङका भूमिहिन कमैयाहरु दैनिक रुपमा सडकमा हुन्छन् । घर बाट ऋण सापटी गरेर मोहयानी हक माग्न उनीहरु राजधानी सम्म आएका हुन् । दाङ जिल्लाको १२ औं मौजा गाउँमा स्वर्गद्धारी गुठीका १ हजार ५० विगाह जमिन मध्ये ७ सय ५३ विगाह जमिनमा मोही छ । बर्षौ देखि जोतभोग गर्दै आएका ३ हजार ५ सय परिवारका १६ हजार भूमिहिन किसानहरुले आफ्नो मोहयानी हक पाउन सकेका छैनन् । २३ दिन देखि आन्दोलन गरिरहेका किसानहरु अव रित्तो हात फर्किने पक्षमा छैनन् । पटक पटकको आन्दोलनमा भएको सम्झौता, आश्वासनमा राज्य पछि हटेको भन्दै राजधानी सम्म आएका उनीहरु हतमा पुर्जा लिएरै फर्किने बताउछन् ।
नेपालको संविधानको धारा ५१ को उपधारा ङ मा कृषि र भूमि सुधार सम्वन्धी नीतिगत व्यवस्था गरिएपनि राज्यले आफुहरुलाई पुर्जा नदिएर अहिले सम्म सुकुम्वासी बनाएको उनीहरुको आरोप छ ।
हात हातमा प्ले कार्ड बोकेर माइतीघरमा प्रर्दशन गरिरहेका उनीहरुले मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गर्न माग गरेका छन् । यसैगरी विशेष प्रकृतिको निजि भनिएको गुठी जग्गाका निस्काशित मोहीको हक पुनस्र्थापना गर्न माग गरेका छन् । उनीहरुले किसानले बुझाउनु पर्ने रैतानी वापतको तिरो वडा कार्यालय मार्फता बुझाउने व्यवस्था गर्न माग गरेका छन् ।