
राप्ती सोनारी, फागुन १७,
गएराती बाँकेको राप्ती सोनारी ७ भेलुहनिया चोकमा ट्याक्टरको ठक्कर बाट स्थनीय बसन्तपुरका २४ बर्षिय अर्जुन पासीको ज्यान गएको छ । नेपालगन्ज बाट नरैनापुर तिर जाँदै गरेको नम्बर नखुलेको नयाँ ट्याक्टरले नरैनापुर बाट राधा कृष्ण चोक तिर आउँदै गरेको अनटेष्ट मोटरसाईकललाई ठक्कर दिदा पासीको घटना स्थलमै ज्यान गएको हो ।
मृतक पासीको आज शनिबार विवाह थियो, विवाहका लागी बजार सामान किनेर फर्किदै गर्दा उनलाई ट्याक्टरले ठक्कर दिएको हो ।
दैव पनि कति निस्ठुरी, आज शनिबार विहे तर गएरातीनै सडक दुर्घटनामा परि सदका लागी दुलाह अस्ताए । बिहेका लागी बजार बाट समान लिन गएका राप्ती सोनारी ७ बसन्तपुरका २४ बर्षिय अर्जुनको पासीलाई विपरित दिशा बाट आउँदै गरेको ट्याक्टरले ठक्कर दिदा घटना स्थलमै ज्यान गयो । विवाहको लागी सबैलाई निम्तो पठाइएको थियो, घरमा आफन्त, गाउँले जम्मा भएका थिए, गाना बजाना गरि रमाइलो चलिरहेको थियो, एक्कासी दुलाहाको मृत्युको खबरले पासीको घरमा एकाएक सन्नाता छायो, रुवाबासी रोकिएको छैन, गाउँनै शोकमा डुबेको छ ।
मृतक पासीको शव पोष्टमार्टमको लागी भेरी अस्पताल नेपालगन्जमा राखिएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार दुर्घटनामा परेको मोटरसाईकल र ट्याक्टर अनटेष्ट हो । नरैनापुर गाउँपालिका २ लक्षणपुरका एक स्थानीयले नयाँ ट्याक्टर किनेका थिए । भने मृतक पासीको मोटरसाईकल पनि अन्टेष्ट नै थियो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ भने, चालक फरार भएका छन् । प्रहरी श्रोतका अनुसार चालकको पहिचान भइसकेको छ । पीडित परिवारले विवाह खर्च सहितको क्षतिपुर्तीको माग गरेका छन् ।