बैजापुर / बाँकेको राप्ती सोनारी वडा न. ६ मा एकै दिन ५ जना महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ र ४ जनामा पाठेघर खसेको भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलाहरुको पाठेघर सम्वन्धी स्क्रिनिङ स्वास्थ्य शिविर सुरु गरेको छ । गाउँपालिकाले स्क्रिनिङ शिविर वडा नं. ६ स्थित आधारभूत स्वास्थ्य केन्द्र कमैयाडाँडामा गर्दा महिलामा भयाभह स्थिति देखा परेको हो । राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले एउटै वडामा क्यान्सर पोजेटिभ र पाठेघर खसेको हेर्दा अवस्था निकै गम्भीर रहेको उल्लेख गरे । शंकास्पद जाँच गर्दा समुदायमा निकै ठुलो समस्या देखा परेको उनले स्विकार गरे । उनले भने— अहिलेको अवस्थामा सेवा सुविधा छल नजिकै अस्पताल छ तै पनि महिलाहरुमा पाठेघरको क्यान्सर पोजेटिभ देखिनु, पाठेघर खसेर काम गरिरहनु पर्ने दुर्भाग्य हो । उनले भने —समस्या देखिएका महिलाहरुको थप जाँचका लागी भेरीमा पठाउँने तयारी भइरहेको प्रमुख के.सीले जानकारी दिए । वडा न. ६ का वडा अध्यक्ष लवराज खरेलले महिलाहरुमा देखिएको समस्या निकै चिन्ता जनक रहेको बताए । गत बर्ष महिलाका लागी शिविर गर्नलाई वडा बाट बजेट छुट्याएपनि पालिकाले शिविर गर्न नदिएको दुखेसो पोख्दै आगामी दिनमा विशेष कार्यक्रम सन्चालन गर्ने उल्लेख गरे ।
बुधबार एक सय जना प्रजनन् उमेर समूहका महिलाहरुको भिआइए विधिबाट चेकजाँच गर्दा ५ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको के.सीले बताए । त्यसैगरी ४ जना महिलाको भने पाठेघर खस्ने समस्या देखिएको पनि उनले बताए ।
शिविरमा १२३ जना महिलाले सेवा लिएका थिए । भेरी अस्पताल नेपालगन्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.नवीन बुढाथोकी, नेपाल परिवार नियोजन संघ बाँकेका स्टाफ नर्स कुसुम श्रेष्ठले महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धी भिआइए परीक्षण गरेका थिए । आर्थिक वर्षको निशर्त तर्फ विनियोजन बजेटबाट स्क्रिनिङ शिविर सुरु गरिएको उनले बताए । कमैयाडाँडाबाट बुधवारदेखि सुरु भएको शिविर माघ ७ गते सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं.९ स्थित महादेवपुरी स्वास्थ्य चौकीमा समापन हुने कार्यक्रम तय भएको पनि स्वास्थ्य शाखा प्रमुख केसीले बताए । आज विहीबार वडा नं.८ स्थित आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जमा शिविर आयोजना गरिएको छ ।
यसैगरी २६ गते शुक्रबार वडा नं.३ स्थित आधारभूत स्वास्थ्य केन्द्र भवानियापुर, २८ गते आइतवार वडा नं.७ स्थित फत्तेपुर स्वास्थ्य चौकी, २९ गते सोमवार वडा नं.१ स्थित खासकुश्मा स्वास्थ्य चौकी, माघ ३ गते विहीबार वडा नं.५ विनौना स्वास्थ्य चौकी, ४ गते शुक्रबार वडा नं.४ स्थित राप्तीसोनारी अस्पताल बैजापुर र ६ गते आइतवार वडा नं.२ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्क्रिनिङ शिविर राखिएको छ । विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलि शिविरमा परिचालन हुने पनि उनले बताए । महिलाहरुमा पाठेघरको समस्या बढी देखिएको छ ।