बुधबार, २८ साउन /वासिङ्टन डीसी । अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट बाहिर खसेका छन् । फोर्ट वर्थबाट लगभग १०० किलोमिटर दक्षिणपश्चिममा रहेको गोर्डन सहरको पूर्वमा यो दुर्घटना भएको हो ।
यस घटनामा कोही पनि घाइते भएको रिपोर्ट आएको छैन । न त कुनै क्षेत्रलाई खाली गराइएको छ । स्थानीय मिडियाको फुटेजमा धेरै डिब्बाहरू एकअर्काको माथि चढेको र नजिकैको क्षेत्रको घाँसमा आगो लागेको देखिन्छ । आगोका कारण धुवाँ उडिरहेको पनि देखिन्छ ।
दुर्घटनालाई खतरनाक अवस्थाको रूपमा हेरिएको पेलो पिन्टो काउन्टी इमरजेन्सी सर्भिसेज डिष्ट्रिक्टले भनेको छ । तर, रेलका डिब्बाहरूमा के लोड गरिएको थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन । अधिकारीहरूका अनुसार कुनै पनि डिब्बाबाट सामान चुहिएका छैनन् ।
युनियन प्यासिफिकका प्रवक्ता रोबिन तिस्वारका अनुसार स्थानीय समय अनुसार दिउँसो २ बजे दुर्घटना भएको थियो । दुर्घटनाको कारण अहिले थाहा हुन सकेको छैन । रेलवे र स्थानीय प्रशासनले संयुक्त अनुसन्धान सुरु गरेको छ ।
रेल यातायात पुनर्स्थापित गर्न रेलका कोचहरू हटाउने र ट्र्याक मर्मत गर्ने काम चाँडै सुरु हुने बताइएको छ । यसैबीच अधिकारीहरूले मानिसहरूलाई दुर्घटना क्षेत्रबाट टाढा रहन अपिल गरेका छन् ।