बुधबार, २१ साउन /रौतहट । उखुमा किसानलाई दिइँदै आएको अनुदान हटाउने सरकारको नीतिविरुद्ध रौतहटका किसान सडकमा उत्रिएका छन्।
बुधबार कटहरिया नगरपालिका -९ स्थित बाबा बैजूनाथ सुगर एन्ड केमिकल्स मिल्स अगाडि किसानहरूले टायर बाल्दै विरोध प्रदर्शन गरेका हुन् ।
उखु उत्पादक संघ, रौतहटको अध्यक्ष अशोक यादवको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा किसानहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान तत्काल उपलब्ध गराइनुपर्ने, आर्थिक वर्ष २०८२/८३ को उखु मूल्य तत्काल निर्धारण गरिनुपर्ने र पुरानो बाँकी अनुदान रकम समेत तुरुन्त भुक्तानी गरिनुपर्ने माग गरेका छन् ।
प्रदर्शनपछि आयोजित कोणसभामा किसान नेताहरू अशोक यादव, रामभरोस यादव, कुमार चौलागाईं र राजकुमार दास लगायतले आक्रोश व्यक्त गर्दै आफूहरूको मागबारे सरकार गम्भीर नभए आगामी भदौ ८ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा गएर धर्ना सुरु गर्ने चेतावनी दिए ।
संघर्षरत किसानहरूको पक्षमा बोलेका बाबा बैजूनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले पनि सरकारलाई अपिल गर्दै किसानको जायज माग तत्काल सम्बोधन गर्न आग्रह गरे ।