मङ्गलबार, १६ वैशाख /दाङ । दाङका युवा वैज्ञानिक मार्शल रोकालाई बलात्कार अभियोगमा सात वर्ष कैद सजाए तोकिएको छ ।
तुलसीपुर ९ की एक ३२ वर्षीय महिलालाई बलात्कार गरेको कसुरमा घोराही १६ का २८ वर्षीय युवा वैज्ञानिक रोकालाई हिजो दाङ जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलले सात वर्ष कैदको फैसला सुनाएका हुन् ।
अदालतका श्रेष्तेदार दामोदर घिमिरेका अनुसार रोकालाई सात वर्ष कैदका साथै तीन लाख जरिवाना, ४० हजार क्षतिपूर्ति र १ हजार ३ सय राहत कोषमा जम्मा गर्ने फैसला भएको छ ।
पीडितले बलात्कारको कसुरमा २०८० जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित रोकालाई जेठ १७ गते घरबाटै पक्राउ गरी २०८० असार १० गते जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाएको थियो ।
उनले झारपातबाट ग्याँस उत्पादन गर्नुका साथै सल्लोको खोटोबाट उत्पादन गरिएको तेलले मोटरसाइकल चलाएर सफल परीक्षण गरेका थिए ।
उनले बनाएको खोटोको एक लिटर तेलले मोटरसाइकल १०० किलोमिटर गुडेको थियो । उनलाई लुम्बिनी प्रदेश सरकारले युवा वैज्ञानिकका रूपमा सम्मान समेत गरेको थियो ।