ईश्वरी के.सी / माघ ५,बैजापुर / फत्तेपुर सडक दुर्घटनामा २ युवाको मृत्यु प्रकरणको ५ औं दिनमा क्षतिपुर्तीमा कुरा मिलेको छ । आज शनिबार भएको छलफलमा सहभागी राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले ६ लाख ५० हजारको दरले मृतक द्धयलाई १३ लाख क्षतिपुर्ती दिने र पोष्टमार्टम गर्दा लाग्ने सम्पुर्ण खर्च बस व्यवसायी समिति र बस धनीले ब्यर्होने भएपछि सहमती भएको जानकारी दिए ।
सहमती भएपछि मृतकका आफन्तले शव बुझेर आजै अन्तिम संस्कार गर्ने भएका छन् ।
गत माघ १ गते राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा बेलुका साढे ६ बजेतिर नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका मोटरसाइकल चालक राप्ती सोनारी(७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ बर्षीय राजेश थारुको मृत्यु भएको थियो । मृतक द्धय एकै घरका काका र भतिज हुन ।
यस अघि सहमति नहुँदा मृतकका परिवार र स्थानीय बासिन्दाले चरणवद्ध आन्दोलन गर्दै आएका थिए ।