राप्ती सोनारी / आफैले खाएको चुरोटको ठुटाले विस्तारामा आगो सल्किदा बाँकेको खजुरामा एक जना वृद्धको ज्यान गएको छ । बाँके प्रहरीका अनुसार चुरोटको ठुटाले बिस्तारामा आगो लाग्दा बाँकेको खजुरामा ९० वर्षिय रत्नबहादुर पौडेलको बिस्तारामा जलेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहीबार राती अबेरसम्म परिवारका सदस्यसँग कुराकानी गरेर सुतेका पौडेललाई शुक्रबार बिहान ४ बजेतिर जलेको अवस्थामा फेला पारिएको थियो । बृद्व सुतिरहेको कोठाबाट जलेको गन्ध आएपछि ढोका खोलेर हेर्दा जलेको अवस्थामा मृत भेटिएको परिवारका सदस्यलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
शारिरीक अवस्था कमजोर भएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका बृद्वको चुरोट पिउने बानी रहेको र मध्य रातमा चुरोट सल्काउने क्रममा आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बन्द रहेको कोठामा धुँवामा निस्सासिएर मृत्यु भएको हुन सक्ने पनि प्रहरीले आशंका गरेको छ । बृद्वको शवलाई पोष्ट मार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको बाँके प्रहरीले जनाएको छ ।